संक्षिप्त विवरण:
सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लामा अवस्थित गोदावरी नगरपालिका जिल्लाको एक महत्त्वपूर्ण स्थानीय तहका रूपमा रहेको छ। साविकका अत्तरिया, मालाखेती, श्रीपुर र गेटा गाउँ विकास समितिहरूलाई समेटी वि.सं. २०७१ जेठ ४ गते अत्तरिया नगरपालिका गठन भएको थियो। तत्पश्चात् नेपाल सरकारबाट वि.सं. २०७३ फागुन २७ गते प्रकाशित राजपत्रबमोजिम साविकको गोदावरी गाउँ विकास समितिलाई समेत समेटी तथा साविक अत्तरिया नगरपालिकाका वडा नं. ९, १० र ११ बाहेक हालको गोदावरी नगरपालिका गठन भएको हो। नगरपालिकाको प्रशासनिक केन्द्र अत्तरिया बजारमा रहेको छ। पूर्व–पश्चिम राजमार्ग र पहाडी जिल्लातर्फ जाने भीमदत्त राजमार्गको संगमस्थलमा अवस्थित अत्तरिया बजार सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक, यातायात तथा सेवा केन्द्रका रूपमा विकसित हुँदै गएको छ। साथै, यो क्षेत्र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा जाने स्थलमार्गको प्रमुख प्रवेशद्वारका रूपमा समेत परिचित छ। जिल्ला सदरमुकाम धनगढीबाट करिब १५ किलोमिटर उत्तर तथा नेपाल–भारत सीमावर्ती क्षेत्रतर्फ जाने प्रमुख मार्गसँग जोडिएको यस नगरपालिकाले प्रदेशका विभिन्न भूभागबीचको आर्थिक, सामाजिक तथा यातायात सम्पर्कमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले पनि गोदावरी नगरपालिका विशेष महत्त्व बोकेको क्षेत्र हो। हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको पवित्र गोदावरी नदी तथा गोदावरी धाम यस क्षेत्रका प्रमुख धार्मिक सम्पदा हुन्। धार्मिक मान्यताअनुसार प्राचीनकालमा ऋषि गौतमले यस क्षेत्रमा तपस्या गरी ज्ञान आर्जन गरेको तथा विभिन्न ऋषिमुनि र तपस्वीहरूले यस क्षेत्रको भ्रमण गरी पवित्र गोदावरी नदीमा स्नान गरेको विश्वास गरिन्छ। यसै धार्मिक तथा सांस्कृतिक महत्त्वका कारण गोदावरी क्षेत्रमा विभिन्न समयमा धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। चुरे पर्वतशृंखलाको काखदेखि तराईको समथर भूभागसम्म फैलिएको यस नगरपालिकाको भौगोलिक तथा जैविक विविधता उल्लेखनीय छ। नगरपालिकाको उत्तरी क्षेत्रमा पहाडी तथा डाँडाकाँडा र दक्षिणी क्षेत्रमा तराईको समथर भूभाग रहेको छ। यहाँ उष्णदेखि समशीतोष्णसम्मको हावापानी पाइन्छ र कृषि तथा फलफूल उत्पादनका लागि उपयुक्त भूभागसमेत रहेको छ। पछिल्लो समयमा तीव्र शहरीकरणका कारण कृषि क्षेत्र क्रमशः आवासीय तथा अन्य प्रयोजनमा रूपान्तरण हुँदै गए पनि कृषि, व्यापार, सेवा, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा नगरपालिकाको सम्भावना महत्त्वपूर्ण रहेको छ। प्राकृतिक तथा धार्मिक सम्पदाको संरक्षण, व्यवस्थित शहरी विकास, आधुनिक पूर्वाधार निर्माण, प्रविधिमैत्री सेवा प्रवाह र स्थानीय स्रोत तथा साधनको प्रभावकारी परिचालनमार्फत समुन्नत नगर निर्माण गर्ने लक्ष्यका साथ गोदावरी नगरपालिका “आत्मनिर्भर, सुन्दर, समृद्ध गोदावरी” निर्माणको अभियानमा अघि बढिरहेको छ।